

०८४ मा एमालेबाटै राष्ट्रपति र प्रधानमन्त्री बन्नुपर्छ : विद्या भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छिन्।
शनिबार मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन्।
नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको उनले उल्लेख गरिन्।
०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको उनको भनाइ थियो।
‘नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ। एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस धेरै शुभकामना छ। यस्तो बनाउनुस्,’ उनले भनिन्, ‘राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस्।’
उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन पनि आग्रह गरेकी छिन्। नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको उनको भनाइ थियो।
‘मैले नेकपा एमालेलाई के अनुरोध गर्न खोजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस्। त्यो भएपछि मैले पालो पाउने भए। नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन,’ पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरू मिलाउनुपर्छ। त्यसको लागि एमालेले प्रयास गर्नुपर्छ।’
साथै, उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको जिकिर समेत गरेकी छिन्।

