

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’को ट्रेलर सार्वजनिक

ललितपुर । मीन बहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ को ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ललितपुरमा आयोजित कार्यक्रमबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
सार्वजनिक ट्रेलरमा मुख्य अभिनेत्री थिन्ले ल्हामो वरिपरि घुमेको छ। जहाँ थिम्ले पेमाको चरित्र निर्वाह गरेकी छिन्। पेमाले तीन दाजुभाइसँग बिहे गरेको र उनले भोग्नुपरेको जीवनलाई ट्रेलरमा समेटिएको छ।
भामको दोस्रो निर्देशकिय फिल्म ‘शाम्बाला’ मा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन्। यस फिल्मले नेपाली पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा प्रस्तुत गर्छ। फिल्मको कथा भामसहित अविनाश विक्रम शाहीले लेखेका हुन्।
यो फिल्म भदौ २८ गतेबाट नेपाली सिनेमाहलमा रिलिज हुनेछ। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुगेपछि पहिलोपटक नेपालका हलमा रिलिज गर्न पाउँदा खुसी लागेको निर्देशक भामले बताए।
‘मेरो पहिलो फिल्म कालो पोथी केही हलमा मात्र रिलिज भएको थियो। कालोपोथी रिलिज हुँदा विदेशमा देखाएर सकेपछि मात्रै नेपालमा रिलिज गरेको भन्ने गुनासो आएको थियो। त्यही गुनासोलाई मध्यनजर गर्दैं हामीले यसपटक छिटो नेपालमा रिलिज गर्ने निर्णय गरेका हौँ। नेपाल प्रदर्शनपछि यो फिल्म विदेशका थुप्रै देशमा रिलिज हुनेछ,’उनले भने।तिब्बती भाषामा रिलिज हुने फिल्मलाई नेपालमा अंग्रेजी र नेपाली सबटाइटलमा प्रदर्शन गरिने छ।
यो फिल्म यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सवहरूमा पुगिसकेको छ। बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ भएको थियो। जहाँ अभिनेत्री थिन्हेले उत्कृष्ट अभिनयका लागि बोक्कलिनो डिओर अवार्ड जितेकी हुन्।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो।
यस फिल्मले नेपालको चलचित्र विकास बोर्डसहित विश्वभरका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फन्ड जितेको छ। फिल्मलाई नेटफ्लिक्समा रिलिज लागि विदेशी निर्माता लागिपरेको समेत भामले सुनाए।

