

दाङका वडा अध्यक्ष वैदेशिक रोजगारीका लागि विदेश पलायन

काठमाडौं । २०७९ को स्थानीय चुनावअघि कार्यालय सहयोगी रहेका चन्द्रबहादुर गुरुङ चुनावपछि सोही वडाको अध्यक्ष बने ।
दाङको राप्ती गाउँपालिका–८ को वडाध्यक्ष सम्हालेको तीन वर्ष नपुग्दै उनी रोजगारीका लागि विदेश गएका छन् । वडा सदस्य चम्फा पुनलाई साउन १७ गते कार्यवाहक अध्यक्षको जिम्मेवारी दिंदै गुरुङ बेलायत गएका हुन् ।
कार्यवाहक दिइएको पत्रमा उनले विशेष कामले विदेश जान लागेको उल्लेख गरेको भए पनि कहिलेसम्म भनेर खुलाएका छैनन् ।
परिवारले दिएको जानकारी अनुसार ऋण बढेपछि उनी बेलायत गएका हुन् । स्थानीय तहको चुनावी खर्च र बिरामी आमालाई उपचार गर्दा ऋण लागेको उनको परिवारले जनाएको छ ।
ऋणको ब्याज बढेर ५० लाखको हाराहारी पुग्न थालेपछि गुरुङ साउन २० गते बेलायत उडे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार वडाध्यक्ष गुरुङ विदेश गएकोबारे पालिकालाई औपचारिक पत्रबाट जानकारी गराइएको छैन ।
गाउँपालिका अध्यक्ष विष्टले उनी विदेश जान लागेको हल्ला पहिले नै सुनेका थिए । साउन १६ गतेको कार्यपालिका बैठकमा अध्यक्ष विष्टले त्यसबारे वडाध्यक्ष गुरुङसँग सोधेका पनि थिए । ‘घरासयी ऋण धेरै छ । ऋण तिर्न बाहिर जान लागेको कुरा भन्नु भएको थियोे,’ विष्टले भने, ‘हामीले आफ्नो कार्यकाल पूरा गरेर जान सम्झाएका थियौं । पछि उहाँ विदेश गएको खबर पायौं ।’
परिवारका अनुसार गुरुङ ‘सिजनल भिसा’मा बेलायत गएका छन् । उनले पाँच, छ महिनापछि आफू फर्कने बताएका छन् । गुरुङको श्रीमती र दुई छोरा छन् । एउटा १२ कक्षामा र अर्को ८ कक्षामा पढ्छन् ।

